Sagun Khabar
पहिरोको कारण जयपृथ्वी राजमार्ग अवरुद्ध 
फाइल फोटो

बैतडी –लगातारको बर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको झौलेक र श्रीभावरमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको प्रहरी निरीक्षक जोशीले बताए । पहिरो पन्छ्याउने काम भइरहेकाले सडक सुचारु हुने उनले बताए । 

राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् । 

यस्तै पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । राजमार्ग अन्तर्गत सतबाँझ नजिकै खसेको पहिरो पन्छ्याएपछि केहीबेर अगाडिदेखि राजमार्ग सुचारु भएको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update