Sagun Khabar
बारीमै कुह्यो बन्दा, सडक अवरुद्ध हुँदा ढुवानी गर्नै पाइएन् 

बैतडी–बारीमै बन्दा कुहेपछि बैतडीका किसान चिन्तित भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ६ खर्काधारका किसानहरुको बन्दा बारीमै कुहेको हो । मोतीनगर –शंकरपुर सडक अवरुद्ध हुँदा बन्दा ढुवानी गर्न नपाउँदा बारीमै कुहेको स्थानीय किसान गणेशदत्त अवस्थीले बताए । 

स्थानीयस्तरमा बजार नभएको र बाहिर पठाउन सडक सुचारु नहुँदा लाखौंको बन्दा बारीमै सडेको उनले बताए । उनले भने ‘बजार नपाउँदा बारीमै बन्दा सडेको छ । लाखौंको घाटा भएको छ ।’

सडक सुचारु नहुँदा खेतमै बन्दा कुहेको अर्का किसान केशवदत्त अवस्थीले बताए । मकैबाली छोडेर बन्दा लगाएको तर अहिले बजार नपाउँदा बारीमै सडेको उनले बताए । आफ्नो बारीमा ५ क्विन्टल बढी बन्दा कुहेको अवस्थीले बताए । उनले भने ‘सडक सुचारु नभएकै कारण हामीले घाटा व्यहोर्नुपरेको छ । बजारमा पुर्याउन नसक्दा बारीमै बन्दा कुहेको छ ।’

अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने देखिएकाले आफूहरु तरकारी खेतीमा लागेको भएपनि पछिल्लो समयमा बजार नपाउँदा समस्या भएको अवस्थीले बताए । सिजनमा फलेको बन्दाले बजार नपाएको किसानहरुको गुनासो छ । बजार र ढुवानीकै समस्याका कारण लाखौंको बन्दा बारीमै कुहेको किसानहरुले बताएका छन् । 

जिल्लाको पाटन नगरपालिका ८ खोड्पेमा समेत भाउ नपाउँदा बन्दा बारीमै कुहेको किसानहरुले बताएका छन् । दशरथचन्द नगरपालिका वडा नं १ का किसानहरुको बन्दा पनि बारीमै कुहेको छ । 

बन्दा बारीमै कुहेपछि लाखौंको घाटा भएको किसानहरुले बताएका छन् । स्थानीय ठाउँमा उत्पादन भएको कृषि उपज बजारीकरणका लागि स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने किसानहरुको भनाइ रहेको छ । 

बैतडीमा १ हजार १ सय हेक्टर जमीनमा आलुबाहेक अन्य तरकारी लगाउने गरिएको छ । जिल्लाभरी एकबर्षमा १३ हजार ९ सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताए । 

यस्तै ८ सय ५० हेक्टर जमीनमा आलुखेती गरिने र एक बर्षमा ८ हजार ९ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको सूचना अधिकारी कँडेलले बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update