बैतडी –पहिरोका कारण भिमदत्त राजमार्ग अवरुद्ध भएको एक साता भइसकेको छ । राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा पहिरोले सडक भासिएपछि अहिले पनि राम्रोसंग सडक सुचारु हुन सकेको छैन् ।
नयाँ ट्रयाक खोलेर सडक सुचारु गर्ने प्रयास भइरहेको भएपनि लगातारको बर्षाले समस्या भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
एकसातादेखि सुदूरका पहाडी जिल्लाहरुको तराईका जिल्लाहरुसंगको यातायात सम्पर्क विच्छेद भएको छ । भिमदत्त राजमार्गको वैकल्पिक मार्ग नहुँदा यातायात सम्पर्क विच्छेद भएको छ । राजमार्ग अवरुद्ध भएसंगै पहाडी जिल्लामा अत्यावश्यक वस्तुहरुको अभाव हुन थालेको छ ।
तराईका जिल्लाबाट पेट्रोलियम पदार्थ ढुवानी नहुँदा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ । यस्तै खाद्यान्नका सामग्रीहरुको अभाव देखिन थालेको छ ।
सुदूरका पहाडी जिल्लाको जोड्ने एकमात्रै भिमदत्त राजमार्ग भएकाले यो राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई निकै सास्ती खेप्नुपर्ने बाध्यता रहेको बैतडीका स्थानीय महेशदत्त भट्टले बताए ।
पहाडी जिल्लाहरुलाई जोड्नका लागि कञ्चनपुरदेखि डडेल्धुराको जोगबुढा हुँदै सडक निर्माण हुन थालेको बर्षौं भएपनि त्यो सडक अहिले सम्म पूरा हुन सकेको छैन् । यस्तै खुटिया दिपायल दु्रतमार्ग समेत अलपत्र अवस्थामै रहेको छ ।
पहाडी जिल्लाहरु जोड्ने अन्य सडकहरुमा समयमा काम नहुँदा भिमदत्त राजमार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भट्टले बताए ।
राजमार्ग अवरुद्ध हुँदा आकस्मिक कामका लागि तराईका जिल्ला जानुपर्ने नागरिकलाई समस्या भएको छ भने बिरामीहरुलाई अस्पताल पुर्याउन समेत सकस भइरहेको छ ।
एकसाताको लामो प्रयासपछि भिमदत्त राजमार्ग एकतर्फी सुचारु भएपनि जोखिम भने कायमै रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले अत्तरियाले जनाएको छ । बर्षा भइरहेकाले राजमार्गमा पहिरोको जोखिम कायम रहेको बताइएको छ ।




