Sagun Khabar
सुचारु भयो भिमदत्त राजमार्ग, जोखिम भने कायमै 

बैतडी–पहिरोका कारण अवरुद्ध भएको भिमदत्त राजमार्ग एकसाता पछि सुचारु भएको छ । गएको सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा पहिरोले सडक भासिएको थियो । 

करीब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासंगको यातायात सम्पर्क टुटेको  थियो । सडक भासिएपछि नयाँ ट्रयाक खोलेर सडक सुचारु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

लगातारको बर्षाका कारण नयाँ खोलिएको ट्रयाकमा समेत सवारी साधन सञ्चालनमा समस्या आएको थियो । ट्रयाक ढुंगा विछ्याएपछि सोमबारदेखि राजमार्ग सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

सडक सुचारु भएसंगै तराईबाट पहाड र पहाडबाट तराईका लागि यातायातका साधनहरु चल्न थालेका छन् । अहिले १० चक्के ट्रक सम्मलाई आवतजावत गर्न दिइएको छ भने त्यो भन्दा ठूला सवारी साधनमा रोक लगाइएको छ । 

सडक सुचारु भएपनि बर्षाका कारण जोखिम भने कायमै रहेको छ । बुढीतोला क्षेत्रमा पहिरोको जोखिम रहेकाले सडक अवरुद्ध हुन सक्ने बताइएको छ । नयाँ खोलिएको ट्रयाक पनि हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा भने समस्या नै रहेको बताइएको छ । 

एकसातापछि राजमार्ग सञ्चालनमा आएपछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यातायातको सम्पर्क स्थापित भएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update