बैतडी–लगातारको बर्षासंगै आएको हावाहुरीले मकैबाली नष्ट भएको छ । आइतबार पानीसंगै आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा मकैबाली ढालेर नष्ट भएको हो ।
पानीसंगै आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका ८ मल्लोढोलेमा मकैबाली ढलेर नष्ट भएको स्थानीय डम्मर बोहराले बताए । घोगा लागेको मकैबालीमा हावाहुरीले क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् ।
यस्तै सुर्नया गाउँपालिका ४ मा पानीसंगै आएको हावाहुरीले मकैबाली ढलेर नष्ट भएको स्थानीय मञ्जु भट्टले बताइन् । खेतमा लगाएको सबै मकैबाली हावाहुरीले नष्ट गरेको उनले बताइन् ।
जंगली जनावरबाट मकैबालीमा क्षति व्यहोर्दै आएका किसानहरुलाई हावाहुरीले पनि ठूलो नोक्सानी पुर्याएको छ । रातदिन पहरा दिएर जोगाएको मकै हावाहुरीले नष्ट गरेको बोहराले बताए । खेतबारीमा लगाएको सबै मकै हावाहुरीले ढलाएको भट्टले बताइन् ।
मकै पाक्ने बेला हावाहुरीले क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा विभिन्न कारणले क्षति पुग्दा किसानहरु निराश भएका सुर्नया ४ का भानबहादुर चन्दले बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको छ । तर विभिन्न कारणले मकैबालीमा क्षति पुग्दा यसको उत्पादन हरेक बर्ष घट्दै गएको छ ।





