Sagun Khabar
भारतले बिहीवार धौलीगङ्गाको बाँध खोल्दै, सतर्क रहन बैतडी प्रशासनको आग्रह

बैतडी – भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका तेस्रो पटक खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले आज सोमबार एक सूचना निकालेर आउँदो बिहीवार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो ।

भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले बताए । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतले बर्खाको समयमा बेला बेला बाँधका ढोका खोल्दै आएको छ । भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो । साउन ६ गते दोस्रो पटक खोलेको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।

यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर क्षति भएको थियो । पछिल्ला वर्षहरूमा भारतले परियोजनाका ढोका खोल्दा नेपालतिर पूर्वजानकारी दिने गरेको छ । 

DAO Suchana1692000119.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update