बैतडी–यो बर्षको गौरा पर्व भदौ ७ गते नै मनाउने असिमि केदार धार्मिक सेवा समितिले निर्णय गरेको छ । दशरथचन्द नगरपालिका ७ स्थित असिमि केदारको गौरा खलामा मंगलबार स्थानीय जानकारहरुको भेला बसेर भदौ ७ गते गौरा मनाउने निर्णय गरेको स्थानीय योगराज पाण्डेयले जानकारी दिए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौराको तिथी उल्लेख गरेकाले सोही तिथीमै गौरा मनाउने निर्णय भएको उनले बताए । भदौ ४ गते बिरुडापञ्चमी, भदौ ५ गते नानीगौरा, भदौ ६ गते अमुक्ताभरण सप्तमी र भदौ ७ गते अठ्यावाली मनाउने निर्णय भएको पाण्डेयले बताए ।
गौरा पर्व भदौ ७ कि २१ भन्ने बहस भइरहेका बेला बैतडीका विभिन्न स्थानमा जानकारहरुले भेला बसेर गौराको तिथी तय गर्न थालेका छन् ।
भदौ २१ गते अगस्ती उदय भइसक्ने भदौ ७ मा गौरा मनाउनेहरुको तर्क छ । अगस्ती उदय भएपछि गौराको पूजन नहुने उनीहरुको जिकिर छ ।
गौरा पर्व गौरा एकादशी र जनैपूर्णिमा अगाडि मनाउन नहुने र दुबधागो धारण गर्नका लागि गौरा एकादशी उपासना गर्नुपर्ने भएकाले भदौ २१ गते गौराको तिथी उपयुक्त भएको आचार्य घनश्याम लेखकले बताए । गौरा मानसखण्ड क्षेत्रको मौलिक पर्व भएकाले यो क्षेत्रमा भदौ २५ गते सम्म अगस्ती उदय हुने भएकाले अगस्तोदयको दोष नलाग्ने उनले बताए । विगतमा पनि भदौ २३ गतेसम्म गौरा मनाएको इतिहास रहेको आचार्य लेखकको दाबी छ ।
ज्योतिषहरुबीच गौराको तिथीका बिषयमा मत बाझिएपछि यो बर्ष दुई गौरा हुने निश्चित जस्तै भएको छ । कुनै ठाउँमा भदौ ७ गते र कुनै ठाउँमा भदौ २१ गते गौरा मनाउने तयारी भएको छ ।




