बैतडी –गौरा पर्वको तिथीका बिषयमा विवाद रहेकै बेला सुदूरपश्चिममा भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइएको छ । नेपाल सरकारले भदौ ७ गते र सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
गौरा पर्वका बिषयमा ज्योतिषहरुबीच मतभेद भने कायमै रहेको छ । कतिपय ज्योतिषहरुले यो बर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन् । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको जिकिर छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्वको तिथी उल्लेख गरिएको छ । सोही अनुसार नेपाल सरकार र प्रदेश सरकारले बिदा दिएको हो ।
भदौ २१ गते अगस्ती उदय भइसक्ने र अगस्ती उदय भएपछि गौरा पूजन नहुने भएकाले भदौ ७ गते उपयुक्त भएको अठोला पञ्चांगका ज्योतिष डिल्लीराज जोशीले बताए । अगस्ती उदय भएपछि गौरा पूजन गर्न नहुने शास्त्रीय मान्यता रहेको उनले बताए ।
तर गौरा पर्व सुदूरपश्चिमको मौलिक पर्व भएकाले यो क्षेत्रमा अगस्ती उदय भदौ २५ सम्म हुने भएकाले भाद्र कृष्ण पक्षमै गौरा मनाउनुपर्ने ज्योतिष कृष्णानन्द अवस्थीले बताए । गौरा एकादशीको उपासना र जनै पूर्णिमा अघि दुबधागो धारण गर्ने प्रचलन नरहेकाले गौराको उपयुक्त तिथी भदौ २१ नै भएको उनले दाबी गरे ।
सरकारले भदौ ७ र ८ गते गौराको सार्वजनिक बिदा दिएपनि यो बर्ष दुई दिन गौरा हुने निश्चित भएको छ । कतिपय ठाउँमा भदौ ७ गते र कतिपय ठाउँमा भदौ २१ गते गौरा हुने निश्चित भएको स्थानीयहरुले बताएका छन् ।
तत्कालीन राज्यमन्त्री स्व. प्रेमसिंह धामीको पहलमा २०५२ सालदेखि गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशमा बिदा दिन थालिएको थियो ।
गौरामा देवीको प्रसाद स्वरुप बिरुडा ग्रहण गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले आफ्ना आफन्तजनहरुको बिरुडाले टाउको पुज्ने चलन रही आएको छ । यस्तै गौरामा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी र डेउडा खेल खेल्ने चलन रही आएको छ ।




