बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका ३ मल्लासैना दलित वस्तीमा खाने पानी पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा मल्लासैना दलित वस्तीमा लिफ्ट प्रविधिबाट खानेपानी पुगेको हो ।
वडाकै ठुलाखोला भन्ने ठाउँबाट वस्तीमा खानेपानी पुगेको वडा अध्यक्ष कालु राम सार्कीले जानकारी दिए । गाउँपालिकाको बजेटबाट आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु भएको मल्लासैना दलित वस्ती लिफ्ट खानेपानी योजना सम्पन्न भएर घर घरमा धारा जडान भएपछि स्थानीय नागरिकहरु खुसि भएका उनले बताए ।
३३ लाख ९९ हजार ३ सय ५४ रुपैँयाको लागतमा खानेपानी योजना सम्पन्न भएको मल्लासैना दलित वस्ती लिफ्ट खानेपानी योजनाका अध्यक्ष करन राम भुलले बताए । खानेपानी योजना सम्पन्न भएपछि गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले उद्घाट गरेका उनले बताए ।
यो वस्तीका नागरिकहरुले दुई किलोमिटर टाढा गएर पानीको जोहो गर्ने गरेका थिए । धेरै समस्यामा भएको वस्तीमा खानेपानी पुग्दा सबै जना हर्षित भएका छन् । खानेपानीको चरम अभाव हुने वस्तीमा पानी पगुेपछि नागरिक हर्षित भएका हुन् । टाढाटाढ गएर खानेपानी ल्याउनु पर्ने बाध्यता रहेकोमा अहिले घरमा पानी पुगेपछि खुसि लागेको स्थानीय शान्ति भुलले बताइन् ।
टाढाको बाटोमा पिठ्युमा बोकेर पानीको जोहो गर्ने गरेका मल्लासैना दलित वस्तीका नागरिकहरुलाई अहिले धेरै सहज भएको उनले बताइन् । मल्लासैना दलित वस्ती लिफ्ट खानेपानी योजनाबाट करिब ५० घरधुरी लाभान्वित भएका निर्माण समति अध्यक्ष करनले बताए ।
खानेपानीको समस्या हल गरेको भन्दै मल्लासैना वस्तीका नागरिकहरुले पहल कर्ता र स्थानीय सरकार प्रति आभार प्रकट गरेका छन् । नागरिकहरुका समस्या समाधानमा लागि परेको भन्दै वडा अध्यक्ष कालुरामले बाँकी ठाउँका खानेपानीका समस्या पनि छिट्टै हल गरिने बताए ।




