बैतडी–बैतडीको दशरथचन्द नगरपालिका १ स्थित आयुर्वेद औषधालय मुस्याचोरमा सञ्चालित स्नेहन र स्वेदन सेवा प्रभावकारी बन्दै गएको छ । दशरथचन्द नगरपालिकाको आयुर्वेद शाखा अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि पूर्वकर्म अन्तर्गत स्नेहन र स्वेदन सेवा सञ्चालनमा रहेको औषाधलयकी प्रमुख पवित्रा थारुले बताइन् ।
यस्तै बाथरोगका बिरामीहरुका लागि कटिबस्ती सेवा समेत सञ्चालनमा रहेको उनले बताइन् । नजिकैको आयुर्वेद औषधालयमा स्नेहन र स्वेदन सेवा सञ्चालनमा आएपछि आफूहरुलाई निकै सहज भएको बाथरोगका बिरामीहरुले बताएका छन् ।
आयुर्वेद औषधालयमा सञ्चालनमा रहेको उपचार पद्दतिले आफूलाई बाथरोगमा निकै राहत मिलेको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी कौमती बोहराले बताइन् । उनले भनिन् ‘सेकाइ प्रविधिबाट बाथरोगको उपचार हुँदा मलाई धेरै सहज भएको छ । नजिकै सेवा पाउँदा खुसी पनि लागेको छ ।’
आयुर्वेद औषधालउमा उपलदुब्ध रहेको स्नेहन र स्वेदन सेवाबाट आफूहरुलाई उपचारमा सहज भएको दशरथचन्द नगरपालिका १ गुरुखोलाकी गोमती भाटले बताइन् । उनले भनिन् ‘कमरको दुखाइको उपचार सेकाइ विधिबाट भइरहेको छ । उपचार शुरु गरेपछि सञ्चो लागेको छ ।’
आयुर्वेद औषधालय मुस्याचोरमा अहिले १४ जना बाथरोगका बिरामीहरुले नियमित स्नेहन र स्वेदन विधिबाट उपचार गराइरहेका छन् । बाथरोगका बिरामीहरुलाई स्नेहन र स्वेदन विधिका साथै कटिबस्ती विधिबाट पनि उपचार भइरहेको औषधालयका वैद्य राजेन्द्रकान्त दयालले बताए । उनले भने ‘बाथरोगका बिरामीहरुका लागि सेकाइ विधि निकै लाभदायक । यो सेवा निशुल्क भएकाले बिरामीहरुलाई सहज पनि भएको छ ।’
आयुर्वेद औषधालय मुस्याचोरले विगतदेखि नै यो सेवा दिइरहेको र यसबाट स्थानीय नागरिक लाभान्वित भएका दयालले बताए । मानिसको शरीरमा विभिन्न खालका विकार हुने भएकाले यस्ता विकारहरुको उपचारका लागि आयुर्वेद पद्दति राम्रो रहेको दयालले बताए ।




