Sagun Khabar
दशरथचन्द नगरपालिकाको प्राविधिक कक्षमा मेयरको ताला

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको प्राविधिक कक्षमा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले ताला लगाएका छन् । नगरपालिकाका इन्जिनियर जयसिंह बोहराको करार सम्झौता नथप्ने निर्णय गरेकाले जिम्मेवार व्यक्ति नहुँदा आफूले ताला लगाएको प्रमुख जोशीले बताए । 

प्राविधिक शाखा प्रमुखको जिम्मेवारीबाट बोहरालाई हटाइएको मेयर जोशीले बताए । कार्यपालिकाको निर्णय अनुसार बोहरालाई इन्जिनियर पदबाट हटाएको उनले बताए । नयाँ जिम्मेवार कर्मचारी नभएकाले आफूले कागजपत्रको सुरक्षाका लागि ताला लगाएको र केहीदिनमै काठमाण्डौंबाट फर्किने मेयर जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै इन्जिनियर बोहरालाई स्पष्टीकरण समेत सोधिएको थियो । चित्तबुझ्दो जवाफ नआएको भन्दै बोहराको करार सम्झौता नवीकरण नगरेको हो । 

यता इन्जिनियर जयसिंह बोहराले भने आफ्नो करार अवधि नथप्ने बिषयमा आफूलाई जानकारी नभएको र आफू बिहीबारदेखि कार्यालयमा हाजिर भएको बताएका छन् । 

कार्यालयमा हाजिर भएपनि प्राविधिक कक्षमा अर्को ताला लगाएका बोहराले बताए । आफूलाई पदबाट हटाएको भएपनि यो भन्दा अघि गरेका कामको जिम्मेवारी आफूसंग रहने बोहराको भनाइ छ । 

नगर प्रमुख जोशीले भने अहिले प्राविधिक शाखाको प्रमुख व्यक्ति कोही नभएकाले महत्वपूर्ण कागजातको सुरक्षाका लागि प्राविधिक कक्षमा ताला लगाएको बताएका छन् । एकदुईदिनभित्रै आफू जिल्ला फर्कने र प्राविधिक शाखाको जिम्मेवारी कसलाई दिने भन्ने बिषयमा छलफल हुने बताए । 

नगरपालिकामा इन्जिनियरको दरबन्दी खाली रहेकाले प्रदेश लोकसेवा आयोगलाई समेत लेखि पठाएको उनले बताए । लोकसेवा आयोगले ढिलो गरेमा नगरपालिकाले नयाँ विज्ञापन आह्वान गरेर इन्जिनियर राख्ने उनले बताए । 

अडिटको समय आएकाले महत्वपूर्ण कागजातको सुरक्षाका लागि ताला लगाउनुपरेको मेयर जोशीको भनाइ रहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update