Sagun Khabar
सुदूरपश्चिममा गौरापर्व शुरु, आज बिरुडा भिजाँइदै, केही ठाउँमा १८ गते बिरुडा भिजाइने  

बैतडी –सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । पौराणिक कालमा भगवान  महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ । 

यो बर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा आजदेखि गौरापर्व शुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व शुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषहरुले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथीप्रति असन्तुष्टी जनाएका छन् । 

तर भदौ २१ गते अगस्ती उदय भइसक्ने भएकाले भदौ ७ गते नै गौरा मनाउनुपरेको ज्योतिष डिल्लीराज जोशीले बताए । भदौ ७ गते गौरा मनाउने ठाउँमा आजदेखि गौरापर्व शुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

Atrya hospital

गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको दश।थचन्द नगरपालिका २ की कौमती बोहराले बताइन् । 

गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत उनले बताइन् ।यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् । 

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । 

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही  आएको छ । तर यो बर्ष श्रावण शुक्ल पक्षमै गौराको तिथी तय गरेकाले धेरैले यसमा असन्तुष्टी जनाएका छन् । गौरा एकादशी तथा जनैपूर्णिमा ब्रत अघि दुबधागो धारण गर्ने प्रचलन नरहेकाले गौरा पर्वको उपयुक्त तिथी भदौ २१ गते भएको आचार्य घनश्याम लेखकले बताए । 

तर बैतडीसहित सुदूरपश्चिमका अधिकांश ठाउँमा भने गौरा शुरु भइसकेको छ । केही ठाउँमा भदौ १८ देखि गौरा शुरु गर्ने तयारी छ । 

गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update