बैतडी –बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन बर्ष यताको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो ।
गत आर्थिक बर्षमा ६ हजार ३३८ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् । ती मध्ये तीन हजार ३६९ पुरुष र २ हजार ९४२ जना महिला रहेका छन् । नागरिकताको प्रमाणपत्र लिने मध्ये १२ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । गत आर्थिक बर्षमा ५ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्या गरेका उनले बताए ।
गत आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालयबाट २ हजार ६८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन् । गत बर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस नगरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
यस्तै आर्थिक वर्ष २०७८÷७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए । सो बर्ष ६ सय २२ जनालाई राहदानी वितरण गरिएको थियो ।
आर्थिक बर्ष २०७७÷७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए । आर्थिक बर्ष २०७७÷७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




