बैतडी –बैतडीको दुर्गास्थानमा क्याम्पस स्थापनाका लागि पहल शुरु भएको छ । केदारेश्वर माविमै क्याम्पस स्थापनाका लागि पहल शुरु भएको हो । केदारेश्वर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज पाण्डेको संयोजकत्वमा क्याम्पस स्थापनाका लागि तदर्थ समिति गठन गरिएको समितिका सदस्य विवेकानन्द पाण्डेयले जानकारी दिए ।
मेलौली नगरपालिका वडा नं २, दशरथचन्द नगरपालिका वडा नं ७, पाटन नगरपालिका वढा नं ५ र आसपासका क्षेत्रका विद्यार्थीहरुका उच्च शिक्षा हाँसिल गर्न सहज होस भन्ने हेतुले क्याम्पस स्थापनाका लागि पहल शुरु गरिएको पाण्डेयले जानकारी दिए ।
शनिबार सम्पन्न भएको बैठकले क्याम्पस स्थापनाका लागि आ–आफ्ना क्षेत्रबाट सहयोग गर्ने निर्णय भएको छ । आजको बैठकमै क्याम्पस स्थापनाका लागि ७ लाख ५९ हजार चन्दा संकलन भएको छ । यही भदौ १४ गते सम्म दिइसक्ने गरेर स्थानीयहरुले चन्दा दिने प्रतिबद्धता जनाएको आर्थिक संकलन समितिका संयोजक विवेकानन्द पाण्डेयले बताए ।
सुदूरपश्चिम विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गर्ने गरेर क्याम्पस स्थापनाको पहल गरिएको हो । दुर्गास्थानमा क्याम्पस स्थापनाका लागि भएको पहल निकै सकारात्मक रहेको स्थानीय प्रकाश पैंतोलाले बताए । दुर्गास्थानमा क्याम्पस स्थापना भएमा विभिन्न कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीहरुले शिक्षा ग्रहण गर्न पाउने उनले बताए ।




