बैतडी–बैतडीका एकजनाको सर्पको टोकाइबाट भारतमा मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका ६ ठूलीसैनीका अन्दाजी ४५ बर्षीय पदम धामीको सर्पले टोकेर भारतको दिल्लीमा मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा भारतमा रहेका धामीलाई शुक्रबार राति सुतिरहेकै अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेका धामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा शनिबार बिहान मुत्यु भएको उनका आफन्त दिपेन्द्र धामीले जानकारी दिए ।
धामीलाई सर्पले टोकेपछि दिल्लीको एक अस्पतालमा उपचारका लागि पुर्याएको र त्यहाँ उपचार सम्भव नभएपछि अर्को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
सिगास –६ स्थित निलपाल आधारभूत विद्यालयका पूर्व शिक्षक समेत रहेका धामीको भारतमै मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको छ । गएको ४÷५ बर्ष यतादेखि धामी भारतको दिल्लीमा काम गर्दै आएका थिए ।
पैसा कमाउने छोरा भारतमै बितेपछि घरमा आमाबुवा विक्षिप्त अवस्थामा रहेका छन् । दशैंको बेला घर आउने तयारी गरेका धामी आमाबुवा भेट्न नपाउँदै विदेशी भूमीमा अस्ताएका छन् ।
मृतक धामीको घरमा तीन छोरा, श्रीमति र बुढेसकालमा आमाबुवा रहेका छन् ।धामीको भारतमै मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको स्थानीय सूर्यबहादुर बोहराले बताए । ग्रामीण बस्तीमा गौराको रौनक छाएका बेला धामीको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको उनले बताए ।




