Sagun Khabar
दार्चुलाको व्याँसमा फेला पर्यो डेंगु सार्ने लामखुट्टे 

बैतडी –दार्चुलाको हिमाली क्षेत्रमा व्याँसमा डेंगु सार्ने लामखुट्टे फेला परेको छ । तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समयमा पहाडी र हिमाली क्षेत्रमा समेत फैलिन थालेको छ । दार्चुलाको हिमाली क्षेत्र व्याँस गाउँपालिकामा समेत डेंगु सार्ने लामखुट्टे फेला परेको स्वास्थ्य निर्देशनालय दिपायलका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । 

पहाडी र हिमाली क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएको जोशीले बताए । सुदूरपश्चिमका ९ जिल्लाहरुमा मध्ये दार्चुलामा सबैभन्दा बढी संक्रमित भेटिएका उनले बताए । उनले भने ‘पछिल्लो समयमा हिमाली र पहाडी जिल्लाहरुमा पनि डेंगु संक्रमण फैलिँदै गएको छ ।’

पछिल्ला बर्षहरुमा पहाडी जिल्लाहरुमा समेत डेंगु संक्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

डेंगु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण देखापर्ने गर्दछन् । यसका साथै गम्भीर प्रकृतिको डेंगु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट–खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

डेंगु नियन्त्रणका लागि प्रदेशभरी ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालनमा रहेको जोशीले बताए । लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगु संक्रमणबाट बच्न सकिने उनले बताए । 

यसैबीच सुदूरपश्चिम प्रदेशमा डेंगु सङ्क्रमण ह्वात्तै बढेको छ । सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेंगु सङ्क्रमण ह्वात्तै बढेको देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा सङ्क्रमण देखिएकामा जुलाइमा त्यो सङ्ख्या बढेर ५८ पुगेको छ । यस्तै अगस्तमा महिनामा भने डेंगु सङ्क्रमण ह्वात्तै बढेको पाइएको छ । अगस्तको हालसम्म दुई सय १३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । 

सुदूरपश्चिममा सन् २०२३ को हालसम्म पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update