बैतडी–बैतडीमा एकै वडाका दुईजना युवाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ५ पल्लाचौंडालीका ४४ बर्षीय नवराज लेखक र सोही वडाको आइत बस्ने लक्ष्मण भनिने ४३ बर्षीय केशव लेखकको मृत्यु भएको हो ।
आफ्नै घरको कोठामा विद्युतको तार जडान गर्दा करेन्ट लागेका नवराजको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । शनिबार साँझ करेन्ट लागेका नवराजको हिजो नै मृत्यु भएको उनले बताए ।
यस्तै आइत गाउँका केशव लेखक शनिबार गौराको चैतोल हेर्न गएकोमा आइतबार बिहान मृत फेला परेका हुन् । दशरथचन्द नगरपालिका वडा नं ५ कार्यालय तलतिर उनी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक केसीले बताए । उनको लडेर मृत्यु भएको बताइएको छ ।
एकै वडाको वल्लोपल्लो गाउँका दुई युवाको मृत्यु भएपछि अहिले गाउँ शोकमग्न भएको छ । गौराको समयमा दुईजना युवाको अल्पायुमै मृत्यु भएपछि गाउँ शोकमग्न बनेको हो ।




