बैतडी –विभिन्न निर्णय गर्दै माओवादी केन्द्र बैतडीको बैठक सम्पन्न भएको छ । आइतबार माओवादी केन्द्रका बैतडी संयोजक शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानलाई सफल पार्ने निर्णय भएको छ ।
३ महिनासम्म सञ्चालन हुने अभियानलाई सफल बनाउने र माओवादीको संगठन विस्तार गर्ने निर्णयसहित बैठक सम्पन्न भएको बैठकमा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक (पुकार)ले बताए ।
अभियान अन्तर्गत यही भदौ १२ र १३ गते सबै पालिकाहरुमा बैठक सञ्चालन गर्ने, भदौ १४ गतेदेखि वार्ड कमिटि बैठक सञ्चालन गर्ने र भदौ १६ गते बिशेष रुपान्तरण अभियान शुभारम्भ हुने भएकाले त्यसमा केन्द्रित रहने निर्णय भएको उनले बताए । अभियानको पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड)ले ७५३ ओटै स्थानीय तहमा एकैसाथ उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले अभियानको उद्दघाटन समारोहमा सम्बोधन गर्ने भएकाले त्यसका लागि सबै पालिकाहरुमा अनलाइनमार्फत सुन्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
यस्तै अभियानका क्रममा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउने निर्णय भएको केन्द्रीय सदस्य धानुकले बताए ।
यस्तै अभियानको दौरानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियान्ताहरुसंग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेको कामलाई सफल बनाउनका लागि छलफल गर्ने, अनियमितता, भ्रष्टाचारका घटनाहरुको खोजी गरी कानुनी दायरमा ल्याउने, विकास निर्माणका कामहरुका लागि पहल गर्ने निर्णय पनि भएको छ ।
यस्तै सामाजिक संघसंस्था र सहकारीहरुलाई प्रवद्र्धनका लागि पहल गर्ने र पार्टी नेतृत्वको कार्यशैली उपर जनताका गुनासाहरु संकलन गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य कृष्णप्रसाद बडू(भाष्कर)ले बताए ।
यस्तै बैतडीका १० ओटै पालिकामा बिशेष रुपान्तरण अभियान सञ्चालनका लागि माओवादीले इञ्चार्जहरु समेत खटाएको छ ।
दशरथचन्द नगरपालिकामा केन्द्रीय सदस्य भरत धानुक (पुकार), पाटन नगरपालिकामा केन्द्रीय सदस्य मञ्जु बम, पुर्चौंडी नगरपालिकामा वैकल्पिक केन्द्रीय सदस्य माया नेगी, मेलौली नगरपालिकामा केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सना र सिगास गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य गणेश खत्रीलाई खटाएको छ ।
यस्तै शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य भक्त विश्वकर्मा, सुर्नया र दोगडाकेदार गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी, डिलाशैनी र दोगडाकेदारमा प्रदेश कमिटि उपाध्यक्ष मानसिंह माललाई खटाएको छ ।




