बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडस्थित भगवती माविका प्रधानाध्यापक गणेशसिंह भण्डारीको निधन भएको छ । लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै सोमबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
बिरामी रहेका उनलाई अस्पताल लैजाने क्रममा कैलालीको गोदावरीमा मृत्यु भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बल्देव नाथले जानकारी दिए ।
प्रधानाध्यापक भण्डारीको निधनले बैतडीको शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको शिक्षा क्षेत्रका जानकाहरुले बताएका छन् । पछिल्लो समयमा भगवती माविमा प्रधानाध्यापकको रुपमा कार्यरत भण्डारीले लामो समय प्रशिक्षकको रुपमा समेत काम गरेका थिए । अंग्रेजी भाषामा राम्रो दख्खल भएका भण्डारीको निधनले एकजना असल शिक्षक गुमेको प्रधानाध्यापक नाथले बताए ।
यसैबीच प्रधानाध्यापक भण्डारीको निधन भएको शोकमा आज दोगडाकेदार गाउँपालिकाभरीका सामुदायिक विद्यालयहरुमा शोक बिदा दिइएको छ । गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै प्रधानाध्यापक भण्डारीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भण्डारीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सधैं सम्मान र स्मरण गर्ने उल्लेख गरिएको छ ।





