बैतडी –जिल्ला अस्पताल बैतडीले मानसिक रोगीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने भएको छ । भोलि अस्पतालमा मानसिक रोगसम्बन्धी शिविर सञ्चालन हुने जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. धिरज जैसवालले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको उनले बताए । चालु आर्थिक बर्षदेखि मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको डा. जैसवालले बताए ।
विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा शिविर सञ्चालन हुने र यसका लागि आवश्यक तयारी पूरा भएको अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए । शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने उनले बताए ।
शिविरमा मानसिक रोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले जानकारी दिए । शिविरमा आएर सेवा लिनका लागि मानसिक समस्या भएका बिरामीहरुलाई आग्रह गरिएको उनले बताए ।
पछिल्लो समयमा मानसिक रोगहरु जनस्वास्थ्यको समस्याको रुपमा देखिएकाले स्थानीय नागरिकलाई सहज होस् भनेर बिशेषज्ञ शिविरको आयोजना गरिएको डोबालले बताए । शिविरमा बिरामीको चेकजाँचका साथै आवश्यक परामर्शसमेत दिइने उनले बताए ।
निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ । मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्या बन्दै गएकाले यसबाट प्रभावित बिरामीहरुको सहजताका लागि शिविर आयोजना गर्न लागिएको डा. जैसवालले बताए । उनले भने ‘मानसिक समस्या भएका नागरिकलाई जिल्ला अस्पतालमा आएर सेवा लिनका लागि आग्रह गर्दछौं ।’




