Sagun Khabar
बैतडीका पहिरो पीडित जागरीलाई प्रवासी नेपालीको सहयोग 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका २ भैंरुका पहिरो पीडित महेश जागरीलाई प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । गएको साउन ६ गते राति घरमाथिबाट खसेको पहिरोले जागरीकी श्रीमति अञ्जना जागरी र ६ बर्षीय छोरा रिजन जागरीको मृत्यु भएको थियो । 

पहिरोले महेशका आमा रायमती जागरी र भाई उमेश जागरी घाइते भएका थिए । पहिरोले परिवारको उठीबास भएको जागरी परिवारको लागि कामको सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीहरुले सहयोग गरेको पुर्चौंडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख विनोद भण्डारीले बताए । 

भारतमा रहेका नेपालीहरुले सञ्चालन गरेको सुदूरपश्चिम हेल्पिङ गु्रपमार्फत जागरीलाई नगद रकम हस्तान्तरण गरिएको हो । हेल्पिङ गु्रपका डम्मरसिंह भण्डारीको पहलमा संकलन भएको १ लाख ६५ हजार नगद रकम पीडित महेश जागरीलाई हस्तान्तरण गरिएको सहायक क्याम्पस प्रमुख भण्डारीले बताए । 

पहिरोले घरपरिवार उजाड भएका महेश जागरी अहिले पुर्चौंडी नगरपालिका १ स्थित आफ्ना ठूलोबुवाको घरमा बस्दै आएका छन् । अपांगता भएका भाइ र बुढेसकालकी आमा पहिरोले घाइते भएपछि उनीहरुको उपचारमा समेत समस्या रहेको छ । 

यस्तै पहिरो पीडित महेशको परिवारलाई पुर्चौंडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख विनोद भण्डारीसहित तीनजनाले अढाई हजारका दरले सहयोग गरेका छन् । 

पहिरोबाट प्रभावित भएका महेश जागरीको परिवारलाई गास,बास र कपासको समस्या भएकाले सबैलाई सहयोगका लागि अपिल समेत गरिएको छ । 

पहिरो पीडित महेश जागरीको परिवारलाई सहयोगका लागि प्रदेशसभामा कुरा उठाएको भएपनि अहिले सम्म प्रदेश सरकारले केही राहत दिन नसकेको प्रदेशसभा सदस्य जानकी ऐर बमले बताइन् । पहिरो पीडित महेशको परिवारको सहयोगका लागि आफूले सक्दो पहल गरिरहेको उनले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update