बैतडी –बैतडीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो ।
मंगलबार राति साढे सात बजेको समयमा भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको थियो ।
सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको राति १ बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।
सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न वैद्यलाई बोलाइएको थियो । झारफुक गर्दागर्दै उनको मृत्यु भएको सार्कीले बताए ।
जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरु अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । सर्पले टोकीहालेमा वैद्य कहाँ जाने प्रचलनले जटीलता निम्त्याएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
पञ्चेश्वरमामात्रै सर्पको टोकाइबाट यो बर्ष तीन जनाको ज्यान गईसकेको छ ।




