Sagun Khabar
केदार नागार्जुन मावि बगलेखानमा क्याम्पस सञ्चालनको पहल 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –११ स्थित केदार नागार्जुन मावि बगलेखानमा क्याम्पस सञ्चालनका लागि पहल भएको छ । सुदूरपश्चिम विश्व विद्यालयले क्याम्पसहरुका लागि सम्बन्धन खोलेपछि क्याम्पस स्थापनाको पहल भएको दशरथचन्द नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहनदेव जोशीले बताए । 

केदार नागार्जुन माविमै क्याम्पस सञ्चालनका लागि २०७५ सालदेखि नै पहल भइरहेको र अहिले विश्वविद्यालयले सम्बन्धन खोलेकाले त्यसका लागि अघि बढेको उनले बताए । 

स्थानीयहरुको भेलाले क्याम्पस स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चन्दा संकलनको काम समेत भइरहेको छ । विश्व विद्यालयले यही भदौ २१ गतेसम्म सम्बन्धन लिनका लागि समय तोकेको वडा अध्यक्ष जोशीले बताए । 

श्री ग्वाल्लेक केदार नागार्जुन बहुमुखी क्याम्पसको नामले क्याम्पस सञ्चालनको तयारी भइरहेको हो । यस्तै शंकरदत्त पन्तको संयोजकत्वमा क्याम्पस सञ्चालनका लागि तदर्थ समिति गठन गरिएको र सो समितिले सबै प्रक्रिया अघि बढाइरहेको वडा अध्यक्ष जोशीले बताए । 

साविकको ग्वाल्लेक, गिरेगडा र नागार्जुन गाविस क्षेत्रका विद्यार्थीहरुको पायक पर्ने हिसाबले क्याम्पस स्थापनाको पहल भएको हो । अहिले पनि ग्रामीण क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गर्नबाट वञ्चित भइरहेकाले स्थानीयस्तरमै क्याम्पस सञ्चालनका लागि पहल भइरहेको वडा अध्यक्ष जोशीले बताए । 

क्याम्पस सञ्चालनका लागि दुईओटा उपसमिति समेत गठन गरिएका छन् । ती समितिहरुले चन्दा संकलनका साथै अन्य कामहरु समेत गरिरहेको बताइएको छ । 

यस्तै जिल्लाको मेलौली नगरपालिका २ स्थित केदारेश्वर मावि दुर्गास्थानमा पनि क्याम्पस सञ्चालनका लागि पहल भइरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन खोलेकाले शिक्षा शास्त्र संकाय र मानविकी संकायमा स्नातक तहको पढाई सञ्चालन गर्ने उद्देश्यसहित क्याम्पस सञ्चालनको पहल भइरहेको आर्थिक समितिका संयोजक विवेकानन्द पाण्डेयले बताए । 

केदारेश्वर बहुमुखी क्याम्पस सञ्चालनका लागि चन्दा संकलन भइरहेको पाण्डेयले बताए । दशरथचन्द नगरपालिका ७, मेलौली नगरपालिका २ र पाटन नगरपालिका ५ का विद्यार्थीहरुलाई लक्षित गरेर क्याम्पस सञ्चालनको पहल भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update