Sagun Khabar
गाउँ पस्यो माओवादी, बैतडीका पालिकाहरुमा कार्यक्रम 

बैतडी –संगठन विस्तारका लागि तीन महिने अभियान लिएर माओवादी केन्द्र गाउँ पसेको छ । बिशेष रुपान्तरण अभियानसहित गाउँगाउँमा संगठन विस्तारको काम हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक (पुकार)ले बताए । 

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार बैतडीमा पनि वडा तहदेखि संगठन सुदृढीकरणको काम हुने उनले बताए । जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको शनिबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ७५३ ओटै स्थानीय तहमा एकैसाथ उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । 

अभियानको पूर्व सन्ध्यामा जिल्लाका ८४ ओटै वडामा अभियान सञ्चालनका लागि पालिकास्तरीय छलफल गरिएको केन्द्रीय सदस्य धानुकले बताए । माओवादीको जनतासंगको सम्बन्धलाई बलियो बनाउनका लागि अभियान शुरु गरिएको उनले बताए । उनले भने ‘हामीले विगतमा उठाएका एजेण्डाहरुलाई कसरी कार्यान्वयनमा ल्याउने, जनताका मागलाई कसरी सम्बोधन गर्ने र माओवादीलाई अझै संगठित कसरी बनाउने भनेर हामीले अभियान अन्तर्गत काम गर्छौ ।’

अभियान अन्तर्गत बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएर अभियानको तयारी गरिरहेका केन्द्रीय सदस्य धानुकले बताए । केही दिन पहिला बसेको माओवादी केन्द्रको बैठकले अभियानलाई सफल बनाउने निर्णय गरेको थियो । 

माओवादीको संगठनलाई पहिलाकै अवस्थामा ल्याउनका लागि अभियान केन्द्रित हुने माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य कृष्णप्रसाद बडू(भाष्कर)ले बताए । अभियान अन्तर्गत अहिले पालिकाहरुमा छलफल केन्द्रित रहेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update