बैतडी –नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीसहित १२० डिएसपीहरुको सरुवा गरिएको हो । बैतडीका प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीको लागु औषध नियन्त्रण ब्युरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको छ ।
शाहीको ठाउँमा बैतडी प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरीलाई बैतडी प्रहरी प्रमुखको रुपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयको पनि सरुवा भएको छ । डिएसपी पाण्डेयको काठमाडौ उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानिपोखरीमा सरुवा भएको हो ।
उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टर नक्साल काठमाडौमा कार्यरत शिवबहादुर सिंह आउने भएका छन् ।
भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी डिएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




