Sagun Khabar
भदौ १८ गतेदेखि गौरा मनाउने ठाउँमा गौराको रौनक शुरु 

बैतडी – भदौ ७ गते गौरा नमनाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका कतिपय ठाउँहरुमा गौराको रौनक शुरु भएको छ । भदौ १८ गते बिरुडापञ्चमीदेखि गौरा शुरु हुने भएकाले गौराको रौनक शुरु भएको सुर्नया ६ का गणेशदत्त अवस्थीले बताए । 

यो बर्ष गौराको तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि केही ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७, सुर्नया गाउँपालिकाको वडा नं ६, ७ र ८, पाटन नगरपालिकाका अधिकांश वडा, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी क्षेत्र, मेलौली नगरपालिकाका केही क्षेत्रमा गौराको रौनक शुरु भएको हो । 

भदौ १८ गतेदेखि गौरा शुरु हुने ठाउँहरुका गौरा खला र मठमन्दिरमा सरसफाइ गर्ने कार्य भइरहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ७ स्थित भगवती मन्दिरमा लाग्ने गौरालाई मध्यनजर गरेर सरसफाइ गरिएको छ । मन्दिरमा सरसफाइ गर्नुका साथै वृक्षारोपण समेत गरिएको स्थानीय प्रदीपकुमार जोशीले बताए । 

Atrya hospital

Mandir1693638837.jpg

यस्तै सुर्नया गाउँपालिकाको वडा नं ७ स्थित गौरा खलामा पनि सरसफाइ गरिएको स्थानीय विक्रम कुँवरले बताए । रौतगाउँ खलामा सरसफाइ गरिएको उनले बताए । 

दार्चुलाका अधिकांश क्षेत्रमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको स्थानीय गंगासागर जोशीले बताए । मालिकार्जुन धाम क्षेत्रमा भदौ १८ देखि गौरा मनाउनका लागि चहलपहल भइरहेको जोशीले बताए । 

भदौ ७ मा गौरा नमनाएका सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा भदौ १८ गतदेखि गौरा शुरुवात गर्ने तयारी छ । भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते ठूली गौरा अर्थात अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी अर्थात अठ्यावाली मनाउने तयारी भइरहेको छ । 

यो बर्ष अगस्ती उदयका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका हुन् । भदौ २१ गते अगस्ती उदय भइसक्ने भन्दै अधिकांश ठाउँमा श्रावण शुक्ल पक्षमा नै गौरा मनाइएको छ । 

गौरा मनाउने परम्परा र गौराको तिथी भदौ कृष्ण वा शुक्ल पक्षमा हुने पक्षका ज्योतिषहरुको तर्कका आधारमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ । अगस्ती उदयका बिषयमा स्थानीयस्तरको परम्परा हेरेर मात्रै मत राख्नुपर्ने स्थानीय संस्कृतिका जानकार प्रकाश पैंतोलाले बताए । 

भदौ १८ गतेदेखि गौरा मनाउने क्षेत्रमा गौराको रौनक शुरु भइसकेको डिलाशैनी स्थानीय प्रदीपकुमार जोशीले बताए । गौराका लागि घर बाहिर रहेकाहरु पनि घर फर्किसकेका छन् भने गाउँघरमा रमाइलो वातावरण रहेको जोशीले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update