
बैतडी–बैतडीमा बजार अनुगमनको क्रममा बरामद गरिएका म्याद नाघेका सामग्री नष्ट गरिएको छ । शनिबार दशरथचन्द नगरपालिका वडा नं १ र २ का बजारमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीन अधिकारीले बताए ।
संयुक्त बजार अनुगमन टोलीले २३ ओटा पसलमा अनुगमन गरेको र अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका सामग्री बरामद गरि नष्ट गरिएका उनले बताए । १२ हजार ९८५ मूल्य बराबरका विभिन्न सामग्री नष्ट गरिएका बताइएको छ ।
यस्तै उपभोक्ता हित विपरीतका क्रियाकलाप गरेका चारजना व्यवसायीलाई जरीवाना गरिएको छ । एकजनालाई १० हजार र तीनजनालाई ५ हजारका दरले जरीवाना गरिएको उनले बताए ।
अनुगमनका क्रममा म्याद हेरेर मात्रै सामग्री विक्रि वितरण गर्न निर्देशन दिइएको छ भने दर्ता नभएकाहरुलाई सम्बन्धित निकायहरुमा दर्ता गर्न आग्रह गरिएको अधिकारीले बताए ।