Sagun Khabar
बैतडी कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी  

बैतडी – जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ७५ जना कैदीबन्दी रहेका छन् । 

२०४० सालमा निर्माण गरिएको कारागारको जीर्ण भवनमा कैदीबन्दी राख्न निकै समस्या रहेको कारगारकी जेलर धारा भण्डारीले बताइन् । उनले भनिन् ‘बन्दीगृह क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । बास बसाइका लागि निकै सकस रहेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जस्तापाताले छाएको बन्दीगृह भवनमा बर्षातको समयमा पानी चुहिने र हिउँदको समयमा शीत चुहिने गर्दछ । खाटमाथि खाट राखेर कैदीबन्दीको बसोबासको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको भण्डारीले बताइन् । 

बन्दीगृह  भवनको छानो मर्मतका लागि गत आर्थिक बर्षमा ३ लाख बजेट आएकोमा एक भवन मर्मत गरिएको र अर्को भवन मर्मत गर्न बाँकी रहेको छ । 

बन्दीगृह भवनमा कैदीबन्दीहरुलाई बसोबासको समस्या रहेको बताइएको छ । बन्दीगृह  भवनमा ठाउँको अभाव एकातिर छ भने जीर्ण भवन अर्कोतिर रहेको छ । भवनको छानामा प्लास्टिक हालेर व्यवस्थापन गर्नुपरीरहेको भण्डारीले बताइन् । 

कारगार परिसरमा कैदीबन्दीका लागि राखिएको टेन्ट समेत च्यातिएको छ । पुरानो टेन्ट च्यातिएपछि कैदीबन्दीहरुका लागि झन् समस्या भएको छ । 

बन्दीगृह भवन निर्माणका लागि अहिले सम्म केही जानकारी नआएको जेलर भण्डारीले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update