Sagun Khabar
द्याँची गौराको अवसरमा देउडा प्रतियोगिता हुने 
फाइल फोटो

बैतडी –देशका विभिन्न ठाउँमा दशैंको रौनक भएको बेला बैतडी र बझाङका केही स्थानमा द्याँची गौरा रौनक शुरु भएको छ । बैतडीको सुर्नया गाउँपालिकाको वडा नं ८ ढोले, सिगास गाउँपालिकाको चौखाम र बझाङको बित्थडचीर गाउँपालिकाका विभिन्न स्थानमा द्याँची गौरा मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार मुरलीधर अवस्थीले बताए । 

सुदूरपश्चिमका अन्य ठाउँमा भदौको महिना गौरा मनाउने चलन रहेको भएपनि केही ठाउँमा गौराको रुपमा आश्विन शुक्ल पक्षमा द्याँची मेला मनाउने गरिएको अवस्थीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

भदौमा मनाइने गौरालाई लोली गौरा भन्ने गरिएकोमा आश्विन शुक्ल पक्षमा मनाइने गौरालाई ललिता गौरा भन्ने चलन रही आएको छ । भदौको महिना मनाइने गौरामा बिरुडाले गौराको पूजन गर्ने चलन रही आएको भएपनि द्याँची मेलामा भने गौरामा जमरा चढाउने प्रचलन रही आएको उनले बताए । 

विवाहित महिलाहरुले आश्विन शुक्ल पञ्चमीमा ब्रत बसेर द्याँची मेलामा गौराको पुजन गर्ने चलन रही आएको सुर्नया ८ ढोलेका स्थानीय तेजबहादुर बोहराले बताए । विवाहित महिलाहरुले गौराको पूजन गरेपछि दुवधागो धारण गर्ने चलन रही आएको बोहराले बताए । 

द्याँची मेलाका लागि घर बाहिर रहेकाहरु पनि गाउँघर फर्किने भएकाले रमाइलो हुने गरेको बोहराले बताए । यसले सामाजिक सद्भावको विकास समेत गर्ने उनले बताए ।

शिवका उपासकहरुले भदौमा गौरा मनाउने र भगवतीका उपासकहरुले आश्विन शुक्ल पक्षमा गौरा मनाउने चलन रही आएको संस्कृतिका जानकार अवस्थीले बताए । द्याँची गौराको अवसरमा स्याडीमा रहेको भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । 

यसैबीच द्याँची गौराको अवसरमा बैतडीको सुर्नया गाउँपालिका ८ ढोलेमा देउडा प्रतियोगिता हुने भएको छ । कार्तिक २ गते दिउँसो १ बजेदेखि देउडा प्रतियोगिता शुरु हुने गौरा व्यवस्थापन समिति ढोलेले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुने देउडीयाहरुलाई कार्तिक १ गतेदेखि कार्तिक २ गते बिहान १० बजेसम्म नाम दर्ता गराइसक्न आग्रह गरिएको छ । प्रतियोगितामा सहभागी देउडीयाहरुलाई बिशेष सम्मानसहित पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update