बैतडी– मनसुन पूर्ण रूपमा बाहिरिए पनि पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका केही हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाले जारी गरेको तीन दिने मौसम बुलेटिन अनुसार भोलि (शुक्रबार) पनि देशका हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी थोरै स्थानमा मध्यम वर्षा र हिमपातको अनुमान गरिएको छ । पर्सि भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुनसक्नेछ । यसका साथै तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न थालेको छ ।
यस वर्षको मनसुन हिजोदेखि नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिसकेको छ । मनसुन पछाडि हटे पनि स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।




