Sagun Khabar
दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै 

बैतडी –बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो । स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ । 

गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ । 

नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो । मार्कण्डेय पुराणअन्तर्गत देवीमाहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । 

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैंघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक–एक देवीको उपासना गर्ने परम्परा छ ।

नवरात्रभरि महाकाली–महालक्ष्मी–महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ ।

नवरात्रका अवसरमा बैतडीका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा बिशेष पूजाआजा हुने गरेको छ । 

यस्तै सिगास, केदार, शिवनाथ, जगन्नाथ, महारुद्र, अनिरुद्र, उदयदेव, वासुलिङ्ग लगायतका मन्दिरहरुमा पनि पूजाआजा गर्ने गरिएको छ । 

नवरात्रको समयमा शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । शरदीय नवरात्रमा शक्तिपीठ तथा मन्दिरहरुमा बिशेष पूजाआजासहित जात्रा हुने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update