Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । शरदीय नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज महासप्तमीका दिनदेखि जात्रा शुरु भएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए ।

महासप्तमीका दिन शुरु भएको जात्रा भोलि महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ । आज श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिर राँगा लैजाने र भोलि बलिदिने चलन रही आएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन सैयौं राँगाको बलि दिँइदै आएको छ । महासप्तमीका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजाआजा गरेर फूलपाती भित्र्याउने चलन रही आएको पूजारी भट्टले बताए ।  

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 

यस्तै मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइनेछ भने वडा कार्यालयले मेला व्यवस्थापन समिति गठन गरेर स्वयंसेवकहरु समेत तयार पारेको छ । 

निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् । यो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update