Sagun Khabar
बैतडीको प्रसिद्ध डाँडाबाघ मन्दिरमा जात्रा 

बैतडी –बैतडीको प्रसिद्ध डाँडाबाघ मन्दिरमा आज जात्रा लाग्दैछ । पाटन नगरपालिका ६ हिरापुरस्थित डाँडाबाघ मन्दिरमा आज राति जात्रा लाग्ने मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए ।     

लोटन्या मन्दिर भनेर समेत प्रसिद्ध रहेको डाँडाबाघ मन्दिरमा हरेक बर्षको असोज शुक्ल चतुर्दशी, असोज शुक्ल सप्तमी र चैत शुक्ल सप्तमीका दिन पूजाआजासहित जात्रा हुने गरेको पूजारी अवस्थीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

डाँडाबाघ मन्दिरमा आज राति र भोलि बिहान बिशेष पूजासहित जात्रा हुने गरेको उनले बताए । डाँडाबाघको दर्शनका लागि टाढाका भक्तजनहरु समेत आउने गरेका छन् । 

डाँडाबाघ मन्दिरको जात्रामा पाटन नगरपालिकाका विभिन्न ठाउँमाबाट देउरो लैजाने चलन रही आएको छ । डाँडाबाघको गात सर्ने भएकाले यसलाई लोटन्या नामले पुकार्ने गरिएको पूजारी अवस्थीले बताए । 

महारुद्र देवताको सारथीको रुपमा चिनिने डाँडाबाघलाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ । डाँडाबाघको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पाटन नगरपालिका २ का स्थानीय नन्दसिंह ऐरले बताए । 

पाटन २ सिमोडास्थित भण्डार घरबाट पनि डाँडाबाघको मन्दिरमा देउरो लैजाने प्रचलन रही आएको उनले बताए । पाटनका विभिन्न ठाउँबाट देउरो पुगेपछि राति र पूर्णिमाको बिहान बिशेष पूजाआजा हुने पूजारी अवस्थीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update