बैतडी –बैतडीमा तिहार र जात्राको सुरक्षाका लागि दुई सय बढी प्रहरी परिचालन गरिएको छ । कार्तिक शुक्ल पक्ष शुरु भएसंगै बैतडीका विभिन्न शक्तिपीठ र मन्दिरहरुमा जात्रा लाग्ने भएकाले सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
दशैं अगाडि नै सुरक्षा योजना बनाइएको र सोही योजना अनुसार प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक केसीले बताए । जात्राको समयमा आवश्यकता अनुसार प्रहरी थप परिचालन हुने समेत उनले बताए ।
तिहारका साथै जात्राको समयमा कुनै पनि आपराधिक घटनाहरु नहोउन भनेर सादा पोशाकमा समेत प्रहरी खटिएका छन् । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार नै प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक केसीले बताए । उनले भने ‘हामीले सुरक्षा योजना अनुसार नै तिहार र जात्राका लागि पनि प्रहरी खटाएका छौं । चाडपर्वको समयमा हुन सक्ने सबै प्रकारका अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रत्येक युनिटबाट प्रहरी परिचालन गरेका छौं ।’
तिहार र जात्राको समयमा हुन सक्ने जुवातास नियन्त्रणका लागि प्रहरीले निगरानी गरिरहेको छ । कहिँकतै जुवातास खेलेको तथा खेलाइएको पाइएमा कानुन अनुसार कारवाही हुने प्रहरी निरीक्षक केसीले बताए ।
यस्तै जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका नागरिक सहायता कक्ष र यात्रु सहायता कक्षबाट पनि प्रहरीले सेवा दिइरहेको छ । बिशेष गरेर यात्रुहरुलाई ती कक्षहरुबाट सहयोग भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




