Sagun Khabar
लटिनाथ मन्दिरको जात्रा आज 

दार्चुला –दार्चुलामा रहेको प्रसिद्ध लटिनाथ मन्दिरमा आज राति जात्रा लाग्दैछ । हरेक बर्ष कार्तिक शुक्ल द्वितीयाको राति लटिनाथ मन्दिरमा पूजाआजासहित जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन् । 

दार्चुलाको मार्मास्थित तलाइमाण्डौंमा मूलथान रहेको लटिनाथ देवताका ठाउँठाउँमा मन्दिरहरु रहेका र ती मन्दिरहरुमा स्थानीय परम्परा अनुसार आज राति जात्रा लाग्ने गरेको दार्चुलाका स्थानीय विष्णु जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मलैनाथ अर्थात मालिकार्जुनका पुत्रका रुपमा रहेका लटिनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल द्वितीयाका दिन जात्रा लाग्ने गरेको जोशीले बताए । ठाउँ अनुसार लटिनाथलाई लटबाब,लट्या,लाटो आदि नामले पुकारिने गरेको जोशीले बताए ।

लटिनाथ देवतलाई न्यायका देवताको रुपमा पूजाआजा गर्ने गरिन्छ । मालिकार्जुन देवताकै बरदानका आधारमा लटिनाथ देवताको पहिला पूजाआजा हुने गरेको स्थानीय जानकारहरुले बताएका छन् । 

मालिकार्जुन अर्थात मलैनाथले हुणदेशका राजा छिपलाकी रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा लटिनाथले प्रतिकार गरेकाले पहिलो पूजा लटिनाथ देवताको गर्ने गरिएको छ । मालिकार्जुनको पूजा कार्तिक शुक्ल चर्तुदशीका दिन हुने गरेको छ । 

हरेक बर्ष भाइटीकाका दिन शैल्यशिखर नगरपालिका ७ स्थित लटिनाथ मन्दिर बन्तोलीमा ठूलो जात्रा लाग्ने गरेको जोशीले बताए । सो जात्रामा टाढाका भक्तजनहरु समेत आउने गरेका छन् । मूलथान तलाईमाण्डौं भएपनि दार्चलाको पछि बन्तोली,विजयपुर,चौड र खर्कमा समेत लटिनाथ देवताको मन्दिर रहेको छ । 

जात्रामा देवीदेवताको दर्शन गर्ने,आफन्तसङ्ग भेटघाट गर्ने,लोकगीत गाउने,लोक नृत्यहरु गर्ने,लोकबाजाहरु बजाउने गरिन्छ । 

जात्राको अवसरमा मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको शैल्यशिखर नगरपालिका वडा नं ७का वडा अध्यक्ष पुष्पराज जोशीले बताए । जात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update