Sagun Khabar
बैतडीका कुन–कुन शक्तिपीठ र मन्दिरमा हुँदैछ जात्रा 

बैतडी–तिहार सकिएसंगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जात्राको रौनक शुरु भएको छ । बैतडीका विभिन्न ठाउँमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षभरी जात्रा हुने गरेको छ । 

बैतडीका प्रसिद्ध शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा हुने भएकाले गाउँघरमा चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । 

जिल्लाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल शुक्ल अष्टमी र नवमीका दिन राँगाको बलिसहित जात्रा हुने गरेको छ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेको स्थानीय आनन्दमणी भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्रिपुरासुन्दरी भगवतीको दर्शनका लागि टाढाटाढाका भक्तजनहरु आउने गर्दछन् । कार्तिक शुक्ल पक्षको प्रतिपदाबाटै पूजापाठ शुरु भएर अष्टमीका दिन मुख्य जात्रा हुने गरेको भट्टले बताए । 

यस्तै मेलौलीमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बलिसहित जात्रा हुने गरेको छ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गरेको स्थानीय प्रेम चन्दले बताए । 

मेलौली भगवतीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । 

यस्तै जिल्लाका प्रसिद्ध धाम मध्येको शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा पनि हजारौं दर्शनार्थीहरुको सहभागिता रहन्छ । 

यस्तै सदरमुकाम गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने स्थानीय उद्धवसिंह मार्कण्डले जानकारी दिए । सो जात्रामा हजारौ दर्शनार्थीहरुको सहभागिता रहने उनले बताए । 

यसैगरी सुर्नया गाउँपालिका ५ स्थित फाल्ङासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । स्थानीय भाषामा भवानीकी जात भनेर सम्बोधन गरिने यो जात्रामा राँगाको बलि दिइने गरिन्छ । 

यस्तै जिल्लाकै प्रसिद्ध धाममध्येको रौलाकेदार धाममा पनि कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । भण्डारघरबाट कार्तिक शुक्ल सप्तमीका दिन भण्डार लैजाने र अष्टमीका दिन जात्रा लाग्ने गरेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

यसैगरी पाटन नगरपालिका २ स्थित प्रसिद्ध महारुद्र धाममा पनि कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । महारुद्र धाममा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरु आफ्नो भाकलसहित पुग्ने गरेका मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए । 

यस्तै जिल्लाको पुर्चौंडी नगरपालिका हाटस्थित त्रिवेणी राताशिला धाममा कार्तिक शुक्ल एकादशीका दिन जात्रा लाग्ने गर्दछ । सो जात्रामा पनि हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । 

तिहार सकिएपछि जिल्लामा जात्राको रौनक शुरु भएको स्थानीयबासिन्दाहरुले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update