Sagun Khabar
दार्चुलामा ऐतिहासिक जोलजिवी मेला शुरु 

दार्चुला –दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा ऐतिहासिक व्यापार मेला शुरु भएको छ । हरेक बर्ष मंसिर १ गतेबाट शुरु हुने मेलाको शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेलाको उद्दघाटन गरेका छन् । 

मेला उद्दघाटन समारोहमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री रमेशसिंह धामी लगायतको उपस्थिती रहेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल–भारत सीमा क्षेत्रमा जोलजिवीमा लाग्ने व्यापार मेला भारतर्फपनि लाग्ने गरेको छ । पछिल्लो समयमा व्यापार कम हुँदै गएपछि मेलालाई प्रवद्र्धन गर्न स्थानीय सरकारले सहयोग गरिरहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताए । 

व्यापार प्रवद्र्धनका लागि १ सय ७ बर्ष पहिलादेखि शुरु भएको व्यापार मेला पछिल्लो समयमा सुस्ताउँदै गएपछि यसको प्रवद्र्धनका लागि स्थानीय सरकारले व्यवस्थापन गरिरहेको उनले बताए । 

व्यापारिक, धार्मिक,ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको मेलालाई थप व्यवस्थित बनाउन अन्तर वडास्तरीय सांस्कृतिक कार्यक्रम समेत राखेको अध्यक्ष धामीले बताए । पहिलापहिला १५ दिनसम्म सञ्चालन हुने यो मेला पछिल्लो समयमा ७ दिनसम्म मात्रै सञ्चालन हुँदै आएको छ । 

जोलजिवी काली र गोरी नदीको संगमस्थल भएकाले यसको धार्मिक र सांस्कृतिक महत्व समेत रहेको मालिकार्जुन गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनसिंह धामीले बताए । प्रसिद्ध मानसरोवर तीर्थयात्राका लागि पनि यो ठाउँमा स्नान गरेर जानुपर्ने शास्त्रीय मान्यता रहेको उनले बताए । 

मेला अवधिभर नेपाल भारत जोड्ने जोलजिवि पुल राति साढे १० बजेसम्म खुल्ला गरिएको छ । 

भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरी मेलाको शुरुवात गरेको सम्झनामा हरेक वर्ष मंसिर १ गतेदेखि जोलजिवि क्षेत्रमा मेला हुँदै आएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update