Sagun Khabar
प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु 

बैतडी –सुदूरपश्चिमका प्रसिद्ध धार्मिक स्थलमध्येको बैतडीस्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ ।

हरेक बर्ष कार्तिक शुक्ल पक्षको अष्टमी र नवमी तिथीमा यो मन्दिरमा जात्रा लाग्ने गरेको छ । तिथीमा घटबढ भएपनि दिन गनेर कार्तिक शुक्ल पक्षको आठौं र नवौं दिनमा जात्रा लाग्ने गरेको स्थानीय गणेशसिंह थापाले बताए । 

अष्टमीको दिन नानी जात र नवमीको दिन ठूली जात भन्ने चलन रही आएको थापाले बताए । आज अष्टमीका दिन नजिकै रहेको भण्डार घरबाट भण्डार ल्याएर जात्राको शुरुवात गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्रिपुरासुन्दरीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । त्रिपुरासुन्दरीको दर्शनका लागि भारतको झुलाघाट, पिथौरागढ, नैनीताल लगायतका क्षेत्रबाट भक्तजनहरु पुगेका स्थानीय आनन्दमणी भट्टले बताए । यो जात्रामा राँगाको बलि दिने गरिएको छ । 

कार्तिक शुक्ल अष्टमीका दिन जात्रा शुरु भएपछि नवमीको बिहान भोलि कापडीगाउँमा भगवतीको सवारी गराउने चलन रही आएको भट्टले बताए । भैलो गाउँदै कापडीगाउँमा भगवतीको सवारी गराइन्छ । कापडीगाउँलाई त्रिपुरासुन्दरीको माइतीगाउँको रुपमा लिने गरिएको छ । 

कापडीगाउँबाट भगवती फर्काउने बेला भने बाटोबाट नभएर अन्यत्रैबाट दौडाएर मन्दिरमा पुर्याउने चलन रही आएको छ । 

११ औं शताब्दीमा बैतडीकै रोडीदेवलबाट त्रिपुरासुन्दरी आएको जनविश्वास रही आएको छ । मौनी थरका एकजना अन्न किन्नका लागि रोडीदेवल पुगेका र उनले किनेर ल्याएको जौंमा भगवती आएको किम्वदन्ती रहेको छ । 

एकरैण्या जौंमा भगवती आएकाले त्रिपुरासुन्दरी भगवतीलाई रणशैनी समेत भन्ने गरिएको थापाले बताए । त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रालाई सीमामा सम्बन्ध बढाउने जात्राको रुपमा लिने गरिएको छ । यो जात्रामा सैयौं भारतीय दर्शनार्थीहरु आउने भएकाले सीमा क्षेत्रका नागरिकको सम्बन्ध बलियो भएको दशथचन्द नगरपालिका वडा नं ८ का वडा अध्यक्ष चामुसिंह थापाले बताए । 

वारीपारी रोटीबेटीको सम्बन्धका साथै धार्मिक सम्बन्ध समेत रहेकाले सीमा क्षेत्रका नागरिकमा सदभाव रहेको उनले बताए । त्रिपुरासुन्दरीको दर्शनका लागि भारतीय दर्शनार्थीहरु अगाध श्रद्धाका साथ पुग्ने गरेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update