Sagun Khabar
दार्चुलाको प्रसिद्ध जयपुर जात्रा शुरु 

दार्चुला –दार्चुलाको लेकम क्षेत्रमा लाग्ने प्रसिद्ध जयपुर जात्रा शुरु भएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ जयपुरस्थित लटिनाथ मन्दिरमा नवमीको रातभरी (आज) जात्रा लाग्ने गर्दछ । 

जयपुर जात्रामा दार्चुलाका मात्रै नभएर विभिन्न जिल्लाका दर्शनार्थीहरु पुगेका छन् । यस्तै सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत जात्रामा सहभागी हुने लटिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

सोमबारदेखि शुरु  भएको पुजन जात्रामा मंगलबार रातभरी र बुधबार बिहान समेत पुजाआजासंगै खेलहरु खेल्ने, दामाहा लगायत बाजागाजाहरु बजाउने र रमाइलो गरेर जात्रा मनाउने गर्दछन् । लटिनाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । जयपुर जात्रामा व्यापार व्यवसायको लागि धेरै व्यापारीहरुले होटल, पसलहरु थापेका छन् । 

जयपुर जात्रामा व्यापारीहरुले लाखौको व्यापार गर्ने गरेका छन । हजारौ मानिसहरुको उपस्थिति रहने जात्रामा रातभरी दामाहा बजाउने,  डेउडा खेल्ने, ठाडो खेल, ढुस्को, धुमारी  लगायतका स्थानीय लोक संस्कृतिहरु समेत प्रस्तुत गर्ने गरिएको छ । 

जात्राको सुरक्षाका लागि आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्रामा मदिरा, जुवातास जस्ता क्रियाकलापलाई पूर्ण निषेध गरिएको छ । 

जात्रामा हेल्थ डेस्कको समेत व्यवस्थापन गरिएको लेकम गाउँपालिका वडा नम्बर ५ को कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update