Sagun Khabar
बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा सम्पन्न 

बैतडी–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ । हिजोदेखि शुरु भएको जात्रा आज पशुबलिसहित सम्पन्न भएको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । 

हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

जात्रामा ५६ राँगा र त्यत्तिकै संख्यामा बोकाको बलि दिइएको छ । परम्परा अनुसार बलि दिने गरिएको थापाले बताए ।

त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा शान्त र भव्य रुपमा सम्पन्न भएको उनले बताए । जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न मन्दिर सेवा समितिले स्वयंसेवक खटाएको थियो भने प्रहरी समेत परिचालन गरिएका थिए । 

यसअघि त्रिपुरासुन्दरी मन्दिर सेवा समितिले मन्दिरमा आउने दर्शनार्थीहरुका लागि निशुल्क चियाको व्यवस्था गरेको थियो । दर्शनका लागि पुगेका भक्तजनहरुलाई निशुल्क रुपमा शुद्ध चिया खुवाउने कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए । यस्तै रातिको समयमा मन्दिर परिसरमै रहेका दर्शनार्थीहरुको सहजताका लागि त्रिपालको समेत व्यवस्था गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update