Sagun Khabar
बैतडी प्रशासनमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दशैंपछि कार्यालयमा सेवाग्राहीको भीड बढेपछि सेवा प्रवाहमै समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

जिल्ला प्रशासन कार्यालयमा एकजना उपसचिव, एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, तीन जना खरीदार र एकजना कम्प्युटर अपरेटरको दरबन्दी खाली रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

तीनजना खरीदार र एकजना कम्प्युटर अपरेटर अन्य कार्यालयबाट काजमा ल्याएर काम सञ्चालन भइरहेको सूचना अधिकारी बोहराले बताए । 

जिल्ला प्रशासन कार्यालयमा दशैंपछि दैनिक दुई सय जना सेवाग्राही आउने गरेका छन् । दरबन्दी अनुसारका जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । पछिल्लो समयमा राहदानीका सबै सेवाहरु निशुल्क गरिएको तर कर्मचारीको अभावमा सेवा प्रदानमा समस्या भइरहेको उनले बताए । उनले भने ‘जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी थपिँदै गएको छ । तर दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको छ ।राहदानी, राष्ट्रिय परिचय पत्रका लागि आवश्यक सेवाहरु हामीले निशुल्क दिइरहेका छन् । एकजना आइटीलाई काजमा ल्याएर काम चलाईरहेका छौं ।’

जिल्ला प्रशासन कार्यालयमा खटाएका कर्मचारीहरुको समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूखुसी सरुवा गर्दा समेत समस्या भइरहेको छ । कार्यालयमा रिक्त रहेका दरबन्दीहरुको जानकारी निरन्तर रुपमा लोकसेवा आयोगमा पठाउने गरिएको समेत प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । उनले भने ‘हामीले लोकसेवा आयोगमा पनि नियमित रिक्त दरबन्दीको विवरण पठाउने गरेका छौं । पछिल्लो समयमा कर्मचारीको दरबन्दी पूर्ती भएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुरुन्त सरुवा गरिदिँदा समस्या भइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुका साथै राहदानी, विभिन्न किसिमका सिफारिश, नाबालिक परिचय पत्र, राष्ट्रिय परिचय पत्र लगायतका सेवाहरु निरन्तर रुपमा दिइरहेको छ । जिल्लाको मुख्य प्रशासनिक निकायमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update