Sagun Khabar
बैतडी कांग्रेसले कार्यतालिका कार्यान्वयन गर्न पालिका समितिहरुलाई पठायो पत्र 

बैतडी –नेपाली कांग्रेस बैतडीले कार्यतालिका कार्यान्वयन गर्नका लागि जिल्लाका १० ओटै स्थानीय तहका पालिका समितिहरुलाई आग्रह गरेको छ । 

शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पारित गरेका निर्णयहरु कार्यान्वयनका लागि सबै पालिका समितिहरुलाई पत्राचार गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

जिल्ला कार्यसमितिको बैठकले मंसिर मसान्तभित्र क्रियाशील सदस्यता फारम वितरण गरिसक्ने, पौष मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने, माघ १० गतेभित्र नयाँ सदस्यता फारम वितरण गरिसक्ने र माघ मसान्तभित्र नयाँ सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै आगामी फागुन १५ गतेभित्र नयाँ सदस्यता फारमभरी जिल्ला कार्यसमितिमा पेश गरिसक्नुपर्ने कार्यतालिका रहेको सचिव जोशीले बताए । 

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले पारित गरेका निर्णय कार्यान्वयनका लागि सबै पालिका समितिहरुलाई पत्राचार गरिएको सचिव जोशीले बताए । उनले भने ‘हामीले जिल्ला कार्यसमितिको निर्णय कार्यान्वयनका लागि सबै पालिका समितिहरुलाई पत्राचार गरेका छौं । पार्टीका नियमित अभियानलाई गति दिन आग्रह गरेका छौं ।’

पार्टीको शुक्रबार सम्पन्न बैठकले प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । 

वडा, पालिका, प्रदेश सभा क्षेत्रहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उनले बताए । बैठकले संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित आगामी फागुनमा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको संगठनलाई बलियो बनाउने, पार्टीभित्र देखिएको ‘ग्याप’लाई परपूर्ती गर्ने र पार्टीमा युवाहरुलाई जोड्नका लागि प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय भएको उपसभापति बिष्टले बताए । 

यस्तै पार्टीको बैतडी–काठमाण्डौं, बैतडी–धनगढी र बैतडी–महेन्द्रनगर सम्पर्क समिति पनि गठन गर्ने निर्णय भएको छ । 

Nc time sheet1701511415.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update