 
                                                                    बैतडी –बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज नवजागृती क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब भिडिरहेका छन् ।
दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा नवजागृतीले टस जितेर बलिङ गरिरहेको छ ।
नवजागृती प्रतियोगितामा सुखद शुरूवात गर्ने सोचमा छ । पहिलो खेल हारेको पञ्चकोटीलाई सेमिफाइनलको सम्भावना जिवितै राख्न आजको खेल जित्नै पर्ने दबावमा छ । पञ्चकोटी १९ औं संस्करणको उपविजेता टोली पनि हो ।
यसअघि हिजो भएको उद्घाटन खेलमा एनआरवाइसी बठ्ठाले पञ्चकोटी क्रिकेट क्लब,बुड्डालाई ६ विकेटले पराजित गरेको थियोे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।
विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए ।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
१९ औं संस्करणको उपाधि  पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।
 




 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    