Sagun Khabar
बैतडी प्रहरीलाई क्यु आर कोडमार्फत गुनासो तथा सुझाव राख्न सकिने 

बैतडी–बैतडी प्रहरीले क्यु आर कोड सञ्चालनमा ल्याएको छ । प्रहरीसंग सम्बन्धित गुनासा तथा सुझाव राख्न नागरिकलाई सहज होस भनेर क्यु आर कोड सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

जिल्ला प्रहरी कार्यालयको गेटमा राखिएको क्यु आर कोड स्क्यान गरेर आफ्नो समस्या तथा गुनासो राख्न सकिने उनले बताए । प्रहरी सेवालाई प्रविधिमैत्री बनाउने र नागरिकलाई छिटो सेवा दिने उद्देश्यले क्यु आर कोड सञ्चालनमा ल्याइएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालयमा क्यु आर कोडमार्फत आएका गुनासोहरुलाई तीनदिनभित्रै समाधान गरिने प्रहरी निरीक्षक केसीले बताए । यस्तै प्रहरी सेवा सम्बन्धीका सुझावहरुलाई समेत ग्रहण गरेर सेवा प्रवाहमा सुधार ल्याइने उनको भनाइ छ । 

क्यु आर कोडमार्फत गुनासो तथा सुझावहरु सिधै जिल्ला प्रहरी कार्यालयमा पुग्ने व्यवस्था मिलाइएको छ । 

तत्कालका लागि जिल्ला प्रहरी कार्यालयमा क्यु आर कोड सञ्चालनमा ल्याइएको भएपनि मातहतका प्रहरीचौकीहरुमा समेत क्यु आर कोड विस्तार गरिने प्रहरी निरीक्षक केसीले बताए । उनले भने ‘हामीले नागरिकका सुझाव र गुनासा व्यवस्थापनका लागि क्यु आर कोड सञ्चालनमा ल्याएका छौं । यसबाट नागरिकलाई सेवा प्राप्तिमा सहज हुने हाम्रो विश्वास रहेको छ ।’

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समेत क्यु आर कोड सञ्चालनमा ल्याएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update