Sagun Khabar
बिडिसिए कप क्रिकेट : निङ्गलाशैनीको शानदार शुरूवात

बैतडी – बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगितामा निङ्गलाशैनी क्रिकेट क्लब(एनसीसी),देहिमाण्डौंले शानदार शुरूवात गरेको छ । 

समूह बी को पहिलो खेलमा कालाशैनी क्रिकेट क्लब,बुड्डालाई ९ विकेटले पराजित गर्दै एनसीसीले शानदार जित निकालेको हो । एनसीसीको जितमा खडक बोहराले अलराउन्डर प्रदर्शन गरे । 

कालाशैनीले दिएको २०४ रनको मध्यम लक्ष्य एनसीसीले २२.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्याे । जसमा खडकले शतकीय पारी खेले । म्यान अफ द म्याच खडकले ७० बलको सामना गर्दै १८ चौका र २ छक्काको मद्दतमा १०६ रनमा अविजित रहे । नरेन भट्ट ६७ रनमा नटआउट रहे । दिपेश बोहरा १५ रनमा आउट भए । ८.५ ओभरमा ७९ रन जोड्दा पहिले विकेट गुमाएको एनसीसीका लागि खडक र नरेनले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए ।
कालाशैनीका लागि नरेश राम लावडले १ विकेट लिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको  कालाशैनीले  ४४ ओभरमा २०३ रनमा समेटियो । उसका टिकेन्द्र बहादुर चन्दले ३७ र रोशन चन्दले ३६ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् । 

एनसीसीका लागि खडक बोहराले ४ र कप्तान रिसिकेश  बोहराले ३ विकेट हात पारे । समूह ए बाट यसअघि एनआरवाइसी टिम सेमिफाइनलमा पुगिसकेको छ ।  

बैतडी जिल्ला क्रिकेट संघको  आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । 

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए ।  

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । 

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसअघि १९ औं संस्करणको उपाधि  पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update