Sagun Khabar
पञ्चेश्वरको आमचोरामा १० शैय्याको अस्पताल शिलान्यास 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकास्तरीय १० शैय्याको अस्पताल निर्माण कार्य शुरु भएको छ । अस्पताल कुन ठाउँमा निर्माण गर्ने भन्ने विवादले लामो समयदेखि रोकिएको अस्पताल निर्माण कार्य शनिबारदेखि शुरु भएको हो । 

शनिबार एक कार्यक्रमकाबीच पञ्चेश्वर गाउँपालिका ४ स्थित आमचोरमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले १० शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

अस्पताल निर्माणका लागि मल्टिटेक न्यू श्री केदार जेभीले १३ करोड ८२ लाख ५५ हजार ८५६ रुपैयाँमा ठेक्का पाएको छ । 

यो भन्दा पहिला गाउँपालिकाको वडा नं ३ कुलाउमा अस्पताल निर्माण गर्ने भन्दै मन्त्रालयले बजेट छुट्याएको थियो । गाउँपालिका केन्द्र बाहिर आधारभूत अस्पताल निर्माण हुने कुरामा स्थानीयहरुले विरोध जनाएपछि अस्पताल निर्माणको काम रोकिएको थियो । आमचोरमा अस्पताल निर्माण गर्ने सहमति भएपछि अस्पताल निर्माणको काम अघि बढेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने अध्यक्ष चन्दले बताए । गाउँपालिकाले अस्पतालका लागि हरेक बर्ष बजेट विनियोजन गर्ने सहमति भएको गाउँपालिकाका प्रवक्ता जनकबहादुर चन्दले बताए । 

आगामी दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने लक्ष्य रहेको छ । जिल्लाको दुर्गम पालिकाको केन्द्रमा अस्पताल निर्माण कार्य शुरु भएपछि स्थानीयबासी खुसी भएका छन् । यो अस्पतालमा निर्माण भएमा समान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिका अध्यक्ष चन्दले बताए । उनले भने ‘लामो समयदेखिको विवाद समाधान गरेर हामीले अस्पताल निर्माण कार्य अघि बढाएका छौं । यो अस्पातल निर्माण भएपछि यहाँका नागरिकलाई धेरै सहज हुनेछ ।’

अहिले पनि सीमा क्षेत्रका नागरिक नजिक अस्पताल नहुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यतामा रहेका छन् । आधारभूत अस्पताल निर्माण भएमा यहाँका नागरिकलाई सहज हुने अध्यक्ष चन्दले बताए । 

अस्पताल शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update