Sagun Khabar
बिडिसिए कप : निङ्गलाशैनी क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश 

बैतडी –कीर्तिमानी जित निकाल्दै निङ्गलाशैनी क्रिकेट क्लब(एनसीसी), बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिमानी जित निकाल्ने क्रममा एनसीसीले महामाया क्रिकेट क्लब,दुर्गाभवानीलाई ५१५ रनले पराजित गर्यो । बिडिसिए इतिहासमै एनसीसीको यो ठुलो रन अन्तरको जित हो । एनसीसीले दिएको ५८८ रनको लक्ष्य पछ्याएको महामाया १५.१ ओभरमा ७२ रनमा समेटियो ।

उसका जयबहादुर टोक्टरेले १६ र यज्ञराज भट्टले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । महामायाको पारी ध्वस्त पार्ने क्रममा एनसीसीका हिम्मत सिंह महराले ३ तथा सन्तोष बिजले,समीर बोहरा र कप्तान ऋषिकेश बोहराले २÷२ विकेट हात पारे । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर महामायाले एनसीसीलाई ब्याटिङको निम्ता दिएको थियो । पहिला ब्याटिङ गरेको एनसीसीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतीमा ५८७ रन बनायो । जुन बिडिसिए इतिहासमै उच्च स्कोर हो ।  जसमा खडक बोहराले कीर्तिमानी दोहोरो शतक हिर्काए । म्यान अफ द म्याच चुनिएका खडकले १४५ बलको सामना गर्दै ३५ चौका र ७ छक्काको मद्दतमा २४२ रन बनाए । खडक बिडिसिएमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् । 

हालसम्म कुनै पनि ब्याटरले दोहोरो शतक प्रहार गर्न सकेका छैनन् । यस्तै गजेन्द्र बोहराले १३८ रनको शतकीय पारी खेले । उनले ७९ बलमा २१ चौका र ३ छक्का हिर्काए । खडक र गजेन्द्रबीच २७३ रनको कीर्तिमानी साझेदारी पनि भयो । 

महामायाका लागि दिनेश रावतले ३ र जयबहादुर टोक्टरेले १ विकेट हात पारे । लगातार दोस्रो जित हात पार्दै एनसीसी सेमिफाइनल पुग्दा महामाया प्रतियोगिताबाट बाहिरिएको स्कोरर नरेन्द्र चन्दले बताए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए । 

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । 

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update