Sagun Khabar
सुर्नया गाड जलविद्युत आयोजनाको प्राविधिक टोलीद्वारा अनुगमन, सञ्चालनका लागि पहल 

बैतडी–बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनका लागि पहल शुरु भएको छ । बन्द अवस्थामा रहेको सुर्नयागाड जलविद्युत आयोजनाको सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको नेपाल विद्युत प्राधिकरण बैतडी केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

२०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नका  लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्युत वितरण केन्द्र बैतडीको प्राविधक टोलीले शनिबार स्थलगत अनुगमन गरेको हो ।  

स्वास्थ्य सन्देश
Atrya hospital

२ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना पूर्ण रुपमा बन्द रहेकाले त्यसलाई सञ्चालन गर्नका लागि पहल शुरु भएको हो । आयोजनाको नहर र अन्य संरचनाको अनुगमन गरिएको पौडेलले बताए । तत्काल मर्मत गरेर एक सय किलोवाट क्षमता सञ्चालनका लागि ल्याउनका लागि पहल भइरहेको उनले बताए । नहर मर्मत गरेर बन्द रहेको आयोजना सञ्चालनमा ल्याउनका लागि पहल गरिने कार्यालय प्रमुख पौडेलले बताए । उनले भने ‘तत्काल आयोजना सञ्चालनका बिषयमा पनि हामीले पहल गर्छौं । पूर्ण क्षमतामा सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरेको छ ।’

अनुगमनका क्रममा नहरमा पानीको मात्रा कम पाइएको छ । केही दिनमा नहर सफाइ गरेर विद्युत आयोजना सञ्चालनका लागि पहल गरिने पौडेलले बताए । डेढ बर्षदेखि विद्युत उत्पादन बन्द भएकाले उपकरणहरुमा समेत समस्या हुन सक्ने जनाइएको छ । उपकरणले साथ दिएमा एक सय किलोवाट उत्पादनका लागि पहल हुने उनले बताए । 

प्राविधिक टोलीले आयोजनाको अनुगमन गरेपछि विद्युत प्राधिकरणको विकास विभागलाई अनुगमन प्रतिवेदन बुझाउने र त्यसपछि आयोजना सञ्चालनका बिषयमा काम अघि बढ्ने बताइएको छ । 

दुई सय किलोवाटको सुर्नयागाड जलविद्युत सञ्चालनमा आएमा सहज हुने कार्यालय प्रमुख पौडेलले बताए । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update