Sagun Khabar
सतबाँझ–श्रीभावर सडक स्तरोन्नती कार्य शुरु 

बैतडी–प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर सडकको स्तरोन्नती कार्य शुरु भएको छ । सुर्नया गाउँपालिका–५ कठेगौंडादेखि ढोल्यामोड जोड्ने उद्देश्यसहित सडक स्तरोन्नती कार्य शुरु भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले बताए । 

सतबाँझ–श्रीभावर–हाट सडक अन्तर्गत थप २० किलोमिटर स्तरोन्नती गर्ने योजना अनुसार सडक स्तरोन्नतीको काम शुरु भएको जोशीले बताए । 

सडक स्तरोन्नतीको जिम्मा पाएको जागृति मुनाल टक्सार जेभीले काम शुरु गरिसकेको सूचना अधिकारी जोशीले बताए । १२ करोडमा ३६ महिनाभित्र २० किलोमिटर स्तरोन्नतीको काम सक्ने लक्ष्य रहेको छ । निर्माण कम्पनीले ठेक्का पाएसंगै काम सुचारु गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

सडकलाई डबल कटिङ गर्नुकासाथै पर्खाल लगाउनुपर्ने ठाउँमा पर्खाल लगाउने काम हुने जोशीले बताए । यस्तै सतबाँझ–श्रीभावर सडकको ट्रयाक खोल्न बाँकी रहेको ठाउँमा ट्रयाक खोलेर ढोल्यामोड जोड्ने योजना समेत रहेको छ । 

२० किलोमिटर सडक स्तरोन्नतीको काम शुरु भएकाले सतबाँझ–श्रीभावर सडक सुधार हुने अपेक्षा समेत गरिएको छ ।

यस्तै केही दिनभित्र सोही सडकखण्ड अन्तर्गत १४ किलोमिटर कालोपत्रे गर्ने कार्य समेत शुरु हुने सूचना अधिकारी जोशीले बताए । सतबाँझदेखि अगाडि ६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको र त्यो भन्दा अगाडिको १४ किलोमिटर कालोपत्रेको काम अघि बढ्ने सूचना अधिकारी जोशीले बताए । 

सतबाँझ–श्रीभावर सडक अन्तर्गत थप १४ किलोमिटर कालोपत्रे गर्ने कामको जिम्मा सिद्धबाबा निर्माण सेवाले पाएको छ । करीब ४८ करोडको लागतमा सो कार्य हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताए । केही दिनभित्रै कालोपत्रेको काम पनि अघि बढ्ने उनको दाबी छ । 

सदरमुकाम जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडकलाई झुलाघाट नाका जोड्ने सहजमार्गको रुपमा समेत लिइएको छ । सडक निर्माण सम्पन्न भएमा यो सडकबाट बैतडीमात्रै नभएर बझाङका नागरिक समेत लाभान्वित हुने बताइएको छ । 

सतबाँझ–श्रीभावर सडक निर्माण कार्य सम्पन्न भएमा बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिक बढी लाभान्वित हुनेछन् भने बझाङबाट बैतडी पुग्ने नागरिकहरुलाई समेत सहज हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update