Sagun Khabar
सुर्नयामा गर्भवती आमाहरुका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर शुरु

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आइतबारदेखि गर्भवती आमाहरुका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन गरेको छ । गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथ शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर शुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

आज पहिलो दिन रौलेश्वर स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेशसिंह मडैले बताए । शिविरमा २३ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए । अल्ट्रासाउण्ड गर्ने क्रममा एकजना गर्भवती आमा जटीलता देखिएकाले अन्यत्र रेफर गरिएको मडैले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आमा र बच्चाको स्वास्थ्य स्थितीका बिषयमा समयमै थाहा पाउनका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

सोमबार भौनेली स्वासथ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै मंसिर २६ गते मंगलबार बासुलिङ्ग स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने तय भएको छ भने मंसिर २७ गते बासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए । यस्तै हटैराज स्वास्थ्यचौकीमा मंसिर २८ गते शिविर सञ्चालन हुने बताइएको छ । 

शिविरमा आएर सेवा लिन सबै गर्भवती आमाहरुलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । गर्भवती आमाहरुलाई नजिकैको स्वास्थ्य संस्थाहरुबाट सेवा प्राप्त होस भनेर ग्रामीण अल्ट्रासाउण्ड शिविरको आयोजना गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

यो महिना चारओटा वडाका स्वास्थ्य संस्थाहरुमा शिविरको आयोजना गर्ने कार्यक्रम तय भए अनुसार ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको बताइएको छ । अन्य वडाहरुमा पौष पहिलो साता निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

सुर्नया गाउँपालिकाले गत बर्ष पनि पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरेको थियो । गत बर्ष झण्डै तीन सय गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । अल्ट्रासाउण्ड गर्दा जटीलता देखिएका आमाहरुलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरेकाले आमा र बच्चा दुवैलाई फाइदा पुगेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update